प्रतिनिधिसभा बैठकमा सांसदहरुद्धवारा सरकारलाई ध्यानाकर्षण

बिहिबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय पक्षंसंग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद लिलानाथ श्रेष्ठले तराई मधेसमा बर्षात्मा ठूलो क्षति पुर्याउने गरेको भन्दै नदी नियन्त्रणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सुनकोशी कमला डायभर्सनका लागि बजेट विनियोजन गर्न पनि माग गर्नुभयो । प्रदेश नम्बर २ मा जनसंख्या र मानव सुचाङ्कका आधारमा बजेट विनियोजन गर्नुपर्ने उहाँको माग छ ।
सांसद सञ्जयकुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । मधेसको डुबानको समस्या द्धिपक्षीय भएकाले ती विषयमा पनि कुरा उठाउन माग गर्नुभयो ।
सांसद महेश्वर गहतराजले तराईको डुबान समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न माग गर्नुभएको छ । अन्तराष्ट्रिय मापदण्ड विपरित भारतले नेपालको भुभागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पुर्वपश्चिम सडक लगायत संरचनाले त्यस क्षेत्र बासिन्दा हरेक बर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै सो बारे भारतीय प्रधानमन्त्री मोदी संग कुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमरेश कुमार सिंहले बागमतीमा आउने बाढिका कारण हुने क्षति न्यूनिकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम गर्न सरकारसँग माग गर्नु भयो । उहाँले हुलाकी सडक मार्ग निर्माणको काममा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सुझाव दिनु भयो । सांसद कृष्णभक्त पोखरेलले चितवनमा असिनाले केरा बाली नष्ट गराएकाले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नु भयो ।