नेपाल चिकित्सक संघद्धारा मुलुकी अपराध (संहिता) ऐन संसोधनको माग

काठमाडौं ,साउन २९ । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल चिकित्सक संघले सोमबार काठमाडांैमा पत्रकार सम्मेलन गरी भदौं १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधन गर्न सरकारसँग माग गरेको हो । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले आफूहरुलाई अपराधि सरह दण्ड सजाय दिने व्यवस्थासहित लागू गर्न खोजिएको ऐन संशोधन नभए भदौं १ गतेबाट बिरामी नजाँच्ने चेतावनी पनि दिनु भयो । विवादित ऐनहरुलाई संशोधन नगरे एप्रोन र लाईसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने संघले को घोषणा पनि गरेको छ ।
अध्यक्ष श्रेष्ठले विरामीको उपचार गर्ने चिकित्सकलाई अपराधि करार गर्ने सरकारको नियत आफूहरुलाई मान्य नहुने पनि बताउनु भयो । भदौ १ गते बाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरबाहीले विरार्मीको मृत्यु भएको पुष्टि भएमा ५ वर्ष कैद र हेलचक्रयाईमा विरामीको ज्यान गएमा त्यस्ता चिकित्सकलाई ३ वर्ष कैद सजाय र ३० हजारसम्म जरिवान लिने व्यवस्था गरिएको छ । यस्तो प्रावधान आफूहरुलाई अपराधि करार गर्ने ढंगले आएको दावी गर्दै अध्यक्ष श्रेष्ठले त्यो मान्य नहुने बताउनु भयो । उहाँले फौजदारी अभियोगको भागीदार बन्नुभन्दा उपचार गर्न छोडन नै उपयुक्त हुने निष्कर्षमा पुगिएको पनि बताउनु भयो । संघले चिकित्सकहरुले लापरबाही गरे÷नगरेको छानवीन गर्नुपर्ने प्रावधान ऐनमा राख्न पनि सरकारसँग माग गरेको छ ।