पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगत अवलोकन गर्न सांसदहरुको माग

पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगत अवलोकन गर्न सांसदहरुको माग
राष्ट्रियसभाका सांसदहरुले बाढि र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।
जागरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रियसभाका सांसदद्वय कालिबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लाको विभिन्न स्थानमा आएको बाढि र पहिरोले भेरी नदी केहीबेर थुनिदा ठूलो प्राकृतिक विपत्ति आईपरेको उल्लेख गर्दै त्यसको स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको हो । राष्ट्रिय सभाको बिहिबारको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोटका सांसद मल्लले नलगाड नगरपालिकामा आएको पहिरोले भेरी नदी थुनिदा त्यहाँ ठूलो मात्रामा जग्गा जमिनको क्षति भई स्थानीय विस्थापित हुने अवस्था आएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद मल्लले पहिरोले झुप्राखोलामा हालेको पुल बगाएकाले त्यसको पनि उचित व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । अर्का सांसद श्रेष्ठले पनि जाजरकोटको खहरे खोलाले बगाएर ज्यान गएका उमेश शाहीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । गत मंगलबार जाजरकोटमा नलगाड नगरपालिकास्थित वडा नम्बर २, ३, ६ र ७ मा आएको बाढि र पहिरोका कारण त्यहाँको बस्ती जोखिमा परेको छ । सांसदहरुले सोही क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन ।