आज नागपञ्चमी  , चट्याङ, अग्नि र सर्पको भयबाट बच्नका लागि गरिन्छ नागपूजा

्आज नागपञ्चमी घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरेर मनाईदैछ ।
पत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै मेघ, चटयाङलगायतका प्राकृतिक भय पनि टार्न सकिने धार्मिक विश्वास रही आएको छ ।
यसै अवसरमा काठमाडौंको नागपोखरीमा महोत्सव नै आयोजना गरिएको छ । महोत्सवमा भेला भएर भक्तजनहरुले पोखरीको बीचमा रहेको नागको पूजा गरेका छन । त्यसैगरी काठमाडौंको टौदह, भक्तपुरको सिद्ध पोखरीलगायत देशभरका नागदह, कुण्डलगायतका नागस्थानहरुमा विशेष पूजा गरी नागको सम्मानका साथ दुध, अक्षता, दुबो, रोटी चढाउने गरिन्छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । नाग रिसाए पानीको अभाव हुने भएकाले पनि नागलाई खुसी पार्न नागपूजा गर्ने प्रचलन बसेको पनि वैदिक धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने चलन पनि रही आएको छ । भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको छाता ओडी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा पनि मान्ने प्रचलन रही आएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।