प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत द्धारा पदभार ग्रहण

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत द्धारा पदभार ग्रहण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पदभार ग्रहण गर्नु भएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहिबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नु भएको हो । सो अवसरमा प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीलगायतका कर्मचारीहरुले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तोकिएको समय भित्रै पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विगतको कामको समिक्षा गर्ने र प्राधिकरणका लागि आवश्यक वित्तिय व्यवस्थापनको चुनौति सामना गर्न पनि आवश्यक कार्ययोजना बनाउने बताउनु भयो । त्यस अवसरमा उहाँले आफूले नै पहिलो पटक प्राधिकरणको नेतृत्व लिँदा यसको जग बसाल्ने काम गरेको दावी पनि गर्नु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा प्राधिकरणका सचिव कार्कीले प्राधिकरणको कामबारे संक्षिप्त जानकारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई गराउनु भएको थियो । उहाँले प्राधिकरणले पुनर्निर्माणको कामलाई साँढे २ वर्ष भित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको पनि जानकारी दिनु भएको थियो । प्राधिकरणको सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको छ । सचिव कार्कीले सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले स्विकृत गरेपछि पुनर्निर्माणको कामले गति लिने पनि बताउनु भयो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ साल पुस १० गते पहिलो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएका ज्ञवालीलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले हटाएको थियो ।