नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जना पक्राउ

चलचित्र निर्माता माधव वाग्लेसहित ६ जना ठूलो परिणाममा नक्कली नोटसहित पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई २ करोड ६० लाख ६३ हजार नक्कली नोटसहित पक्राउ गरिएको जानकारी गराएको हो । पक्राउ पर्नेहरुमा चलचित्र निर्माता वाग्ले, छापाखानाका संचालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई हाल कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लूभू बस्ने १९ वर्षीय साजन तामाङ र २४ वर्षीय सुजित तामाङ रहेका छन । बुधबार काठमाडांैको चार ढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालिका संचालक समेत रहेका वाग्लेको कोठामा खनतलासी गर्दा १ हजार दरका नेपाली नक्कली नोट २ करोड ५२ लाख बरामद गरिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनु भयो ।