काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उहाँले चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको र मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौति समेत दिनुभएको हो । उहाँले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उहाँले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौति दिनुभयो ।उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । तपाईले प्रस्तुत गर्नुभधएको तथ्यमा टेकेर । ल आउनुहोस् । कहाँ तीनबर्षमा चमत्कार भएको छ ? पानीमा बहस गरौ । सिलन्यास र उद्घाटन नै गर्ने रहर हो भने सुरु भईसकेका पुलहरु सकिएपछाडि बालुवाटारको परिसर भित्र थुप्रै जग्गा खालि छ । त्यहीभित्र प्रत्येक दिन एउटा नया भवनको सिलन्यास गर्नुहोला । बनेका कोठाको फेरि उद्घाटन गर्नुहोला । ”उहाँले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिनुभयो ।उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेछ ? दुईवटा कारण हुनसक्छन् । एउटा कारण वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्री जी लाई थाहा छैन । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।”