• काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ । 

    पौष ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो। बैठकले पार्टी संगठन र पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका प्रवृतिका विरुद्ध र संसद विघटनको विरुद्ध संघर्ष गर्ने उद्घोष गरेको हो। त्यसका लागि पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।

    बैठकले पुस १० गते बिहान साढे नौ बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगायतका नेताहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने, सोही दिन दिउँसो २ बजे अध्यक्षद्धयको तर्फबाट पत्रकार सम्मेलन गर्ने, पुष ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र एक हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ।

    यस्तै पुस १२ गते ७७ जिल्लाहरूमा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउँदै एकताविरुद्धका भ्रमलाई चिर्ने र कसरी संघर्षका कार्यक्रम अघि बढाउने भन्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

    बैठकले पुस १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा बिरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । पुस १४ गतेसम्ममा सबै जनवर्गिय संगठनहरुको केन्द्रीय बैठक तथा भेलाको आयोजना गर्ने, पुस २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुस २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । संघर्षको कार्यक्रमलाई व्यवस्थित बनाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समिती र उक्त समितिको सचिवालय पनि गठन गरेको छ ।

    बैठकले स्थायी कमिटी सदस्यहरु तथा प्रदेश कमिटीका पदाधिकारीहरुलाई पार्टीको संघर्षको कार्यक्रममा सम्बन्धित प्रदेशमा जुट्न पनि निर्देशन दिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जिल्ला कमिटी र संगठनको कार्ययोजना र कार्य विभाजनको सम्बन्धमा स्थायी कमिटीले निर्णय लिनसक्ने अधिकार दिएको छ । बैठकमा बोल्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले पार्टीका विरुद्ध भएका सबै प्रकारका षडयन्त्रलाई असफल पारेर पार्टीलाई एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातिर अगाडी बढाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

    त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक राजनीतिक परिवर्तनको रक्षा, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र सुदृढ गरी देशलाई समृद्ध नेपाल बनाएर समाजवादको दिशा तर्फ अघि बढाउन संकल्प गर्दै संघर्ष गर्न तयार हुनुपर्ने आवश्यकता औँल्याउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

    अध्यक्ष प्रचण्डले संर्घषमा दृढतापूर्वक र एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकतालाई अपिल समेत गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो पहिलो चरणको संघर्षको कार्यक्रम सकिएपछि अझै सशक्त र प्रभावकारी संर्घषका कार्यक्रम तय गर्ने प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको निर्णय छ ।