काठमाडौं, पुस १७ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताउनुभएको छ ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न बस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताउनुभएको हो।
अहिले दाल, फलाम, सिमेन्ट लगायतको बस्तुहरुमा अत्याधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैँ गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गर्नुभयो । आफैँ मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ति गर्नेलाई नछाडने बताउनुभयो ।
निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्य वृद्धि गरेर बजारलाई महँगो बनाएको पनि मन्त्री भट्टले बताउनुभयो । उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको बताउनुभयो ।