धनगढी, पुस २४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन्।
शुक्रबार कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी नै छोडेर हिँडेका प्रचण्ड–नेपाल समूहका नेताहरुको कुरा नसुन्न पनि कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।
‘प्रचण्ड–नेपाल समूह पार्टी नै छोडेर हिँडेका भगौडाहरुको समूह हो,’ उनले भने,‘भगौडाहरुको कुरा अब तपाईंहरुले सुन्नु पर्दैन।’
प्रधानमन्त्री ओलीले आफूले बोलाएको केन्द्रीय कमिटीको बैठकमा नआएर प्रचण्ड–नेपाल समूहका नेताहरु हामी यहाँ छौं भन्दै सडकमा हिँडेको बताए। ‘केन्द्रीय कमिटीको बैठकमा नआएर हामी यहाँ छौं भन्दै सडकमा हिँडिरहेकाहरुको कुरा सुन्नु उचित छैन,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहका नेताहरु बैठक छोडेर सडकमा हामी यहाँ छौं भन्दै गालीगलौजमा उत्रिएको पनि आरोप लगाए। ‘केही दिनअघि तपाईंहरुले सुन्नु भएको हो जुुलुसमा नारा लगाएको। कस्ता खालका नारा उहाँहरुले लगाइरहनुभएको छ,’ उनले भने।