काठमाडौँ: कोरोना महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ ।दुई देशबीच पर्यटन प्रवद्र्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताउनुभयो । “ यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् ।यसमा ध्यान दिनुपर्छ”, राजदूतले भन्नुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो ।