• ”डरको कुरो कसले पो गरेको छ र ? म कसैसँग डराउँदिन । अँ ,बरु प्रभावशाली व्यक्तिहरूलाई सम्झाइबुझाइ गरेर दबाब दिएर …”
    ”हृदय परिवर्तन गर्ने भन्नुभएको होला । तिनीहरू डाँका र हामी सर्वोदय कार्यकर्ता (सर्वोदय आन्दोलन: गान्धीको अहिंसावादी नीतिमा आधारित समाज सुधारको आन्दोलन । खराब मनोवृतिको मानिसको हृदय परिवर्तन गरेर उसलाई सकारात्मक बनाउने आन्दोलन ।) हौँ र ? यथार्थमा टेकेर हेर्नुस् । जनताको बिचमा जसो भनेर गइएको छ ,त्यो कुरो कार्यान्वयन गरिएन भने जनताबाट अलग्गिने छौँ हामी, अलग्गिइ सकेका छौँ ।”
    ”तिम्रो कुरो ..”
    “नक्सली कुरो होइन ,सामन्तदा । पार्टीको सच्चा कार्यकर्ताको गुनासो हो । तपाईँ मान्नुस् वा नमान्नुस् , पार्टीबाट जसले कहिल्यै केही फाइदा लिएका छैनन् त्यस्ता मानिसहरू पनि निकै छन् । काम गर्नुपर्‍यो, काम । काम गर्न दिनुस् अनि फेरि भोट माग्ने आवश्यकतै पर्दैन ।”
    “ त्यो त निश्चितै हो र जित्ने पनि हामी नै हौँ । ”
    “नकारात्मक भोटले ,किनकि पार्टीको विकल्प छैन । तर काम किन नगर्ने त ?”
    “काम गर न तिमीहरू । काम गर्नबाट कसले छेकेको छ र तिमीहरूलाई ?”
    “बाहिरी व्यवधानबाट डर छैन ।”
    “पार्टीको सच्चा कार्यकर्ता जस्तोसुकै बाधा अडचनबाट पनि डराउँदैन । तिमीले जे सुनेका छौ त्यो कुरो साँचो होइन । मलाई थाहा छ तिमीले यी कुराहरू कुन श्रोतबाट सुनेका हौ । साहूको जमिनमा मोही दर्ता भयो । त्यसमा कतैबाट केही बाधा आयो त ?”
    “जति जमिनमा बर्गा दर्ता भयो, त्यो पनि उल्लेखनीय छ । तर साहूहरू कति धेरै जमिनका मालिक छन् । तीनको त साराका सारा जमिन बाँकी नै छ । यो कुरो मेरो मनमा बिझिरहेको छ ।”
    “बिस्तारै-बिस्तारै अघि बढ्नुपर्छ ।”
    “खेतमजदुरका बारेमा के गरौँ त ?” थप पढ्न