• काठमाडौंः सरकारले आर्थिक वर्ष २०७८- ७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँहरूको टिप्पणी छ ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आ.व. २०७८÷०७९को बजेटले नीजि क्षेत्रको अधिकांश सुझावलाई समेटेको बताउनुभएको छ ।  न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले बजेटले नीजि क्षेत्रको सुझावहरुलाई समेटेको भन्दै कार्यान्वयन हुनसके यो बजेटलाई नीजि क्षेत्रले सकारात्मक रुपमा लिने बताउनुभयो । अघिल्लो वर्षमा केही कमी कमजोरीहरु देखिएको भन्दै उहाँले बजेटमा उल्लेख भएका कुराहरुलाई मौद्रिक नीतिमा पनि समावेश गरेर कार्यान्वयन गर्न सक्नुपर्ने उहाले बताउनुभयो । साना तथा मझौला उद्योग, पर्यटनको क्षेत्रमा पनि बजेट सकारात्मक रहेको उहाँको भनाई छ ।

    नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले बजेट कार्यान्वयन हुन सकेमा यस बजेटमा कुनै कैफियत नदेखेको प्रतिक्रिया दिनुभयो । राजनीतिक अस्थिरताका कारण राजनीतिक नेतृत्व अल्मल्लिएको अवस्था भएका कारण बजेट कार्यान्वयनमा भने चुनौती रहेको उहाँले बताउनुभयो । बजेटले सबै कुरा समेटेको उल्लेख गर्दै उहाँले आफुहरुको अधिकांश माग सम्बोधन भएको बताउनुभयो ।

    ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) का अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायसँग सम्बन्धित साना तथा मझौला व्यवसायीले तत्कालै ऋणको व्यवस्था खोजेको भएपनि बजेट मार्फत् सम्बोधन हुन नसकेको बताउनुभयो । यद्यपी, भ्याट छुट र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने कुरा समेटिनु सकारात्मक भएको उहाँको टिप्पणी छ । आफुहरु बजेट कार्यान्वयनको पखाईमा रहेको उहाँले बताउनुभयो ।

    स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले जलविद्युतको लागि बजेटमा कुनै आकर्षक योजना नआएको बताउनुभयो । विद्युत खपत कति बढाउने भन्दापनि विद्युत अब चाहिँदैन भन्ने सरकाले सोच राखेको उहाँको भनाई छ । आफुहरुको माग अनुसार भ्याट फिर्ताको कुरा सम्बोधन नभएको बताउनुभयो । सर्बे लाइसेन्स नविकरण गर्न लाग्ने महशुल छुट दिने र समस्याग्रस्त आयोजनालाई सम्बोधन गर्ने कुरा बजेटले गर्न नसकेको पनि उहाँले बताउनुभयो । आ.व. २०७८÷०७९ को बजेटले विद्युत व्यापारमा विद्युत प्राधिकरणको एकाधिकारलाई तोडेर नीजि क्षेत्रलाई पनि बाटो खुला गरिनुलाई सकारात्मक रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।