•  काठमाडौंः जारी निषेधाज्ञा खुकुलो बनाउन सरोकारवालाले माग गरेका छन् । लामो निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेको छ । यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार , जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताउनुभयो । निषेधाज्ञालाई एकैपटक नभई चरण चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताउनुभयो ।
     
    उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरु बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताउनुभयो । लकडाउनमात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य मापदण्ड अपनाउदै फ्रन्टलाइनरहरुलाई काममा खटाउनुपर्ने पनि उहाँको भनाई छ ।
    खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन बिस्तारै खुला गर्नुपर्ने बताउनुभयो । व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी लकडाउनलाई खुकुलो पार्नुपर्नेमा जोड दिनुभयो । नेपाल अटोमोवाइल्स् डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पु-याउनेगरी बिस्तारै लकडाउनलाई खोल्दै लानुपर्ने धारणा राख्नुभयो । व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने भन्दै उहाँले आर्थिक अवस्था पनि कमजोर हुने बताउनुभयो । नागरिक पनि सुरक्षित हुनका लागि आफैमा जिम्मेवार हुनुपर्ने पनि उहाँको भनाई छ ।