गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताउनुभएको छ । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न उहाँको चेतावनी छ । उहाँले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताउनु भयो । उहाँले सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गर्नुभयो । उहाँले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।