तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका हुन् । घटनामा कुनैपनि राजनीतिक क्रियाकलाप नदेखिएको सांसदहरुको भनाइ छ । लुटपाट, आगजनी तथा हिंसक घटना भएकाले देशको देशको दिशा कतातिर जाँदैछ भन्ने निर्धारण गर्नसक्ने भएकाले सरकार संयमित हुनुपर्ने सांसदहरुले बताएका छन् । नेपाल समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले तीनकुने घटनामा आयोजकले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि हिंसात्मक गतिविधि गरेकाले सैह्य नहुने बताउनुभयो । उहाँले राजतन्त्र अन्त्य गर्न विगतमा दलहरुले घोषणा गरेरै सशस्त्र विद्रोह गरेको उदाहरण दिँदै राजावादीहरुले व्यवस्था परिवर्तन गर्नै खोजेका हुन् भने सशस्त्र विद्रोह गर्न चुनौती दिनुभयो ।