केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदुषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भएपनि यतिबेला वायु प्रदुषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरुमा जाने बिरामीको संख्या बढेको छ । अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अजित श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताउनु भयो । छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको समेत उहाँको भनाइ छ । उहाँल वायु प्रदुषणका कारण मुटुमा असर गर्ने र हृदयघातको समेत उच्च जोखिम हुने बताउनु भयो ।