सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभयो । बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको पनि जानकारी दिनुभयो । उहाँले सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको समेत जानकारी दिनुभयो । वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।