राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ । बुधवार पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी सभापति लामिछानेको पक्राउ गैरकानूनी र मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै आयोगमा निवेदन दिएको जानकारी दिएको हो । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउनु भयो । उहाँले बिना अनुमति हातहतियारसहित प्रहरीको ठूलो संख्या सभापति लामिछानेको शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको बताउनु भयो । लामिछानेले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको बताउनु भयो ।