सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५÷४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे। उनको यो करियरको चौथो उपाधि हो । रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धनबहादुर थापालाई पहिलो नौ होलमा २–होलले पछि पारे। यसपछि १८ होल सकिंदा निरजले ६–होलको फराकिलो अग्रता बनाए। एकपक्षीय जितको नजिक निरज पुगेका थिए। तर धनले सहजै हार मानेनन् । २७ होलको समाप्तीमा अग्रता ५–होलमा छोट्याए।