नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै विजेता बन्ने बलियो दाबेदारी प्रश्तुत गरेको छ । मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले बुधवार हङकङमाथि ९ विकेटको रबाफिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रश्तुत गरेको हो । टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा यु–१९ विश्वकपमा स्थान बनाउनेछ । लिगमा शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म अंकतालिकामा अफगानिस्तान र नेपालले बलिया दाबेदार हुन् । यी दुई बीच आगामी शनिबार लिगको अन्तिम खेलमा प्रतिष्पर्धा हुनेछ । त्यसले नै विश्वकप खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।