नेपाली सेनाले निकालेको तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली मंगलवार पाल्पा पुगेको छ । गत चैत्र २८ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएको गोरखाबाट पश्चिम तर्फको पदमार्ग पछ्याउँदै पाल्पा पुगेको हो । राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, बर्दवाणी,सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाटबाट पाल्पा प्रवेश गरेको हो ।