नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले शिक्षकका माग सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले नै शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने काम गर्नु लाजमर्दो भएको बताउनु भयो । उहाँले देशभरका लाखौँ शिक्षक र विद्यालयहरू सङ्कटमा रहँदा पनि सरकारले त्यसको सम्बोधनमा तत्परता र सक्रियता नदेखाउनु दुःखद् भएको बताउनु भयो ।