नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ । मंगलवार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गर्नुभएको हो । सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताउनु भयो । उहाँले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।