नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गर्नुभयो । उहाँले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरीमा बुझाउनुपर्ने धारणा राख्नुभयो ।