नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले काँग्रेस र एमालेको संयुक्त सरकार गठन भएपनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको टिप्पणी गर्नुभएको हो । उहाँले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाउँदै वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको आरोप समेत लगाउनु भयो । सांसद गौतमले राष्ट्रिय सहमति निर्माणको आवश्यकता औंल्याउँदै शीर्ष नेताहरुले टाउको जोड्नुपर्ने बेला आएको बताउनु भयो ।