सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम थालिरहँदा खोलानाला, नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गर्दै, विक्री वितरण र निर्यात गर्न दिन निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाहरुले सरकारलाई बजेटमा सुझाव दिँदै त्यस्ता वस्तुहरु अहिले खेर गइरहेको भन्दै आगामी बजेटमा त्यसखालको कार्यक्रम ल्याउन भनेका हुन् । उद्योग वाणिज्य महासंघले दिएको सुझावमा भनिएको छ, ‘गिटि रोडा ढुंगा उत्खनन, बिक्रि वितरण र निर्यात सम्बन्धमा आवश्यक कार्यविधि बनाई आन्तरिक खपत (अन्दाजी वार्षिक २ करोड घनमिटर) भन्दा बढी परिमाणलाई निर्यात गर्न पाउने व्यवस्था गरिनुपर्छ ।’