गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ । सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आफ्नो बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताउनु भयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने बताउनु भयो । आफूबिरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिध सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताउनु भयो ।