नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो । पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको र यो परिवर्तन बालविवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा विद्यमान रहेको छ । नेपालको जनगणना २०७८ को तथ्याङ्कअनुसार वि.सं. २०१८ र २०७८ बिचको समयावधिमा कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात क्रमशः १० र १३ प्रतिशत विन्दुले वृद्धि भएको कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताउनु भयो ।