उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहर र गाउँबीचको खाडल हटाउँदै समावेशी र दिगो शहरीकरणको दिशातर्फ अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरूसँगको मौखिक प्रश्नोत्तर कार्यक्रममा बोल्दै सिंहले दिगो र आधुनिकसँगै समावेशी शहर निर्माणका लागि सरकारले स्पष्ट शहरी विकास खाका तयार पारेको बताउनुभएको हो । उहाँले शहर र गाउँबीचको असमानता हटाउँदै समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित शहरी प्रणालीमा गर्ने उद्देश्यले सरकारले खाका तयार पारेर कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो । शहर र गाउँलाई एकआपसमा जोड्ने गरी ‘एकीकृत शहरी विकास’ अवधारणा अघि सारेको उहाँको भनाइ छ ।