मिर्गौला प्रत्यारोपण पश्चात सगरमाथाको सफल आरोहण गर्नुभएका आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यारोपणको एम्बास्डर बनाउने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आरोही शेर्पाको सममानको लागि आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले प्रत्यारोपणको एम्बास्डर बनिदिन आग्रह गर्नुभएको हो । उहाँले प्रत्यारोपण क्षेत्रमा स्वास्थ्य मन्त्रालयले एम्बास्डर बनाउने घोषणा गर्नुभयो । शेर्पाले मिर्गौला प्रत्यारोपण गरिसकेपछि पनि सगरमाथाको सफल आरोहण गरेर ठूलो उदाहरण पेश गर्नुभएको उल्लेख गर्दै सफल र उदाहरणीय इतिहास समाजलाई बताउन जरुरी रहेको बताउनु भयो ।