सरकार र यातायात व्यवसायीहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । सोमवार साँझ मन्त्रालयमा बसेको सरकार र यातायात व्यवसायीहरुबीचको छलफल बिना निष्कर्ष सकिएको हो । बैठक सकारात्मक रहेको सरकार पक्षले बताएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थीको संयोजकत्वमा बनेको वार्ता कमिटीले सार्वजनिक यातायातका समस्या समाधान गर्न वार्ता गरेको बताउनु भयो । उहाँले आफूहरुले ७ बुँदे मागहरु लिएर आएको र मागहरुमाथि छलफल भएको र कार्यदलमा सहमति हुँदै गएको र पहिलो नम्बरको बुँदामा सहमति गर्न पुनः बैठक बस्ने बताउनु भयो ।