सरकार र व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि सार्वजनिक यातायात नचल्नु दुर्भाग्यपूर्ण भएको सांसदहरुले बताउनुभएको छ । मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहमति कार्यान्वयन नभएको अवस्थामा पुनः आन्दोलन गर्न सकिने भएपनि यातायात व्यवसायीले सर्वसाधारणलाई दुःख दिने काम गरेको बताउनु भयो । उहाँले समझदारी भइसक्दा समेत कार्यान्वयन नगरेर यातायात व्यवसायीले ठूलो गल्ती गरेको बताउनु भयो । उहाँले सरकार र यातायात व्यवसायीबीच भएका सहमतिहरु कार्यान्वयन गर्न समेत आग्रह गर्नुभयो ।