नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय बिलासिता करका कारण थप संकटमा पर्ने बताउनुभएको हो । उहाँले भारतमा सुन र हिराका गहना नेपालभन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताउनु भयो । गहना उद्योग धरासायी भएको अवस्थामा न्युन आय भएका नेपालीले गहना खरिद गर्न नसक्ने अवस्था सिर्जना सरकारले गर्न नहुने उहाँको भनाइ छ ।