राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शिलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनु भयो । उहाँले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।