प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन युएसको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधवार काठमाडौंमा संयुक्त रूपमा आयोजित ‘नेपाल–अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले अमेरिकासँगको व्यापार बढाउन त्यहाँबाट नेपालमा हुनसक्ने लगानी धेरैभन्दा धेरै भित्र्याउनुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीलाई जोड दिदाँ यो लगानीले हाम्रा उत्पादनहरूको मूल्य श्रृंखलालाई बलियो बनाउँछ ।