वनसम्पन्न देश नेपालमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै सांसदहरुले वन नीतिमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल वन सम्पदामा धनी हुँदाहुँदै पनि मलेसिया लगायतका देशहरुबाट काठ आयात गर्नु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले नेपालमा करिव ४६ प्रतिशत भूभाग वन क्षेत्र रहेको उल्लेख गर्दै त्यसको उपयोग गर्न नसक्नु चिन्ताको विषय भएको बताउनु भयो ।