उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीवार इजलासमै कालोमोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो । प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा (बहुमत) का कार्यकर्ता अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए । यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ । न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेको थियो ।