नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यातायात व्यवसायीको हकहितको सुरक्षा र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ । आईतवार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । यातायात क्षेत्रका समस्याको समाधानका लागि व्यवसायीहरूको एकता, प्रयास र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ । सभापति देउवाले लोकतान्त्रिक मूल्य–मान्यतामा आस्था राख्ने व्यवसायीहरूको हक र हितका पक्षमा कांग्रेस पार्टी सधैं साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।