नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो आरोप लगाउनुभएको हो । राज्यको नेतृत्वकर्ताहरु शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उहाँको आरोप छ । उहाँले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त समेत गर्नुभयो । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरु एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको समेत आरोप लगाउनु भयो ।