मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर धार्मिक पर्यटक एवं हाइकिङ रुचाउने पर्यटकको रोजाइमा पर्न थालेको हो । समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिम श्रृंखला पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत चर्चा बटुलिरहेको लटारम्मेश्वर क्षेत्र डब्लु डाँडा नामले समेत चिनिन्छ । पौराणिक मान्यताअनुसार सतीदेवीको जटा पतन भएको स्थानका रूपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ ।