युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले लागि परेको बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विभिन्न खेल पुरस्कारको योजना बनाएको बताउनु भयो । उहाँले खेलाडीहरूलाई नगद प्रोत्साहन, आवश्यक खेल सामग्री र तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले खेलाडीहरूको क्षमता अभिवृद्धिको लागि अनुभवी प्रशिक्षकहरूको व्यवस्थापन, खेलकुद विज्ञानमा आधारित तालिम, खेल पूर्वाधारको निर्माण र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनु भयो ।