राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले वाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्तीमा जोखिम रहेको भन्दै तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको औँल्याउनुभएको छ । आगामी असार १६ देखि १९ गतेसम्म स्पेनको सेभिलमा हुने “विकासका लागि वित्त” विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा काठमाडौंमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो । विकासशील देशहरूमा वाह्य ऋणको बढ्दो बोझले सामाजिक विकास कार्यक्रमहरू प्रभावित भएको हुँदा वित्तीय प्रणालीमा तत्काल सुधार आवश्यक भएको बताउनु भयो । उहाँले विश्वभरका विकासशील र विकासोन्मुख देशहरूमा सरकारले आफ्ना नागरिकहरूको स्वास्थ्य र शिक्षामा भन्दा बढी रकम ऋणको व्याज तिर्नमा खर्च गरिरहेको जानकारी दिनुभयो । साथै ति देशहरूले आफ्नो कुल राजश्वको १० प्रतिशत भन्दा बढी व्याज तिर्नमा खर्च गरिरहेको भन्नु हुँदै स्वास्थ्य,शिक्षा भन्दा ऋण सेवामा बढी खर्च भएको र नेपाल सहित विकासोन्मुख र विकासशील राष्ट्रहरुको विकास यात्रालाई यसले जोखिममा पारेको जानकारी गराउनु भयो ।