उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करको नीति र दरहरुमा स्थिरता कायम गर्र्नेगरी आगामी आर्थिक वर्षका लागि आर्थिक विधेयक ल्याइएको प्रष्टीकरण दिनुभएको छ । आर्थिक विधेयकमाथि शनिवार संसदको प्रतिनिधि सभामा भएको छलफलमा उहाँले जहिल्यै उद्योगी व्यवसायी, करदाताहरुका बिचमा करका नीति र दरमा अस्थीरता, अनिर्णयता भयो भन्ने गुनासाहरु आएको बताउँदै त्यसलाई सम्बोधन गर्ने प्रयास यसपटक गरिएको बताउनु भयो । उहाँकाअनुसार अस्थीरता र अनिर्णयले लगानीकर्ताहरुले करको अनुमान गर्न सक्ने स्थिति भएन । त्यसले उद्योग व्यवसाय प्रभावित भयो । समग्र करप्रणाली प्रभावित भयो । यसैलाई ध्यानमा राख्दै यसपटक आर्थिक विधेयकमा करको नीति र दरहरुमा स्थिरताको सन्देश जान सकोस् भनेर आवश्यक र अत्यावश्यक ठाउँमा मात्र संशोधनको प्रश्ताव गरिएको छ ।